
काठमाडौंका महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले शक्तिको दुरुपयोग गरेको व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले आरोप लगाएको छ ।
महानगरले अवैध संरचना हटाउने अभियानले गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको हो ।
वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको बताएका छन्। ‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो ?,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?’
मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठले बताए ।
उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि यस विषयमा साझा धारणा बनाउने उनले बताए । ‘काठमाडौं, उद्योग वाणिज्य संघको आपत्कालिन बैठक बस्दै छौं, महासंघले पनि साझा धारणा बनाउन अध्यक्षसंग कुराकानी गर्दैछु,’ श्रेष्ठले भने, ‘कोभिड १९ र आर्थिक संकटको मारमा परेको उद्योगी माथि निर्वाचित मेयरले शक्ति परिचालन सही ठाउँमा गर्नु पर्छ ।’
यस्तै आज काठमाडौं महानगरले कीर्तिपुर नगरपालिकाले वडा नम्बर १० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ । पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि उक्त पर्खाल भत्काइएको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीका बताएका छन्।
