
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाको नामै लिएर अध्यक्ष ओलीले सो भूमि नेपालीको हो भनेर चुइक्क बोल्न नसकेको बताए ।
सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पारे । नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्षअघि हाम्रो हातबाट खोसेर लगेको सो जमिन हाम्रो हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराए ।
सत्तारुढ दलका नेताहरु भने यसबारे चुइक्क बोल्न नसकेको उनको भनाई थियो । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको दोहोर्याए ।
सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाए । राजनीतिलाई दुश्मनीको विषय सत्तारुढ दलहरुले मिलेर बनाएको र प्रतिस्पर्धालाई छोडेको ओलीको भनाई थियो । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाएर ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउने दावी पनि गरे ।
