एमालेको २५ वर्षदेखिको विरासत तोड्ने झाँक्रीको प्रयास

६ भाद्र २०७९, सोमबार १२:३४

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन गुल्मी क्षेत्र नम्बर २ बाट लड्ने नेपाल एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले घोषणा गरेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले बताइन् । सचिव झाँक्रीले भनिन् ‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिंदै आएको छ, यसर्थ एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस्’,।

झुटा आश्वासनले गुल्मीका जनता आजित भएकाले विकल्प खोजेको भन्दै उनले त्यसको छिनोफानो मंसिर ४ को निर्वाचनले गर्ने बताइन् ।
एमालेतर्फ संकेत गर्दै उनले ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा’ भएपछि छटपटी बढेको सुनाइन् ।

गुल्मी २ का बहालवाला सांसद गोकर्ण विष्ट नेकपा एमालेका सचिव हुन् । पछिल्लो चार वटा चुनाव लडेका विष्ट पहिलो संविधान सभा निर्वाचन २०६४ मा बाहेक निर्वाचित भएका थिए । उनी यो पटक पनि उम्मेदवार बन्ने निश्चित जस्तै छ ।

विष्ट र झाँक्री लामो समय एमालेमै थिए । तर २ भदौ २०७८ मा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीमा झाँक्री सचिव छन् । यो पटक विष्टसँग प्रतिस्पर्धा गर्नुअघि रामकुमारीले टिकटका लागि सत्ता गठबन्धनमा सहमति जुटाउनुपर्छ । यो क्षेत्रमा नेपाली कांग्रेसका डा.दामोदर भुसाल पनि आकांक्षी छन् । सत्ता गठबन्धनले साझा उम्मेदवार उठाए कडा प्रतिस्पर्धा हुने स्थानीय निर्वाचनको मत परिणामले देखाउँछ ।

गुल्मीमा एमाले सबभन्दा बलियो दल स्थानीय निर्वाचन २०७९ को वडाध्यक्षको मतका आधारमा बनेको छ। एकीकृत समाजवादीले जम्मा ६५८ मत पाएको देखिन्छ भने एमालेले ३१ हजार २५३ मत पाएको थियो ।