
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको चुनावको लागि नेपाली काँग्रेसले पनि मंगलबार दल दर्ता गरेको छ ।
दल दर्ताका लागि मंगलबार अपरान्ह निर्वाचन आयोगको कार्यालयमा काँग्रेसका उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेल पुगेका थिए ।
काँग्रेस केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि सहयोगीका रुपमा निर्वाचन आयोगमा पुगेका थिए । आगामी निर्वाचन चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको समय मंगलबारसम्म तोकेको थियो । काँग्रेसले अन्तिममा मंगलबार दल दर्ता गरेको हो ।
काँग्रेसले ढिलो गरी दल दर्ता गर्नुको कारण केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता नभएको बताएको छ। १० जना महिलालाई सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय सदस्य मनोनित गरेपछि मात्रै काँग्रेसले दल दर्ता गरेको हो।
