एक साता चल्ने भनिएको धर्ना तेस्रो दिनमै स्थगित

३१ श्रावण २०७९, मंगलवार १३:०७

प्रदेशमा प्रहरी समायोजनको माग राख्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित भएको छ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशमा प्रहरी समायोजनको माग राख्दै जारी धर्ना कार्यक्रम तेस्रो दिनमा स्थगित गरेको जानकारी दिएका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री राउतसहित मन्त्री र सांसदहरुले साउन २९ देखिको धर्ना दिदै आएका थिए । एक सातासम्म चल्ने भनिएको धर्ना प्रदेश प्रमुखको कार्यालय अगाडि तेस्रो दिनमा स्थगित भएको हो । संघ र प्रदेश सरकारबीच संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर द्वन्द्वको स्थिति देखा पर्दै आएको छ।

पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्वन्मुख देखिएको हो। संविधानप्रदत्त अधिकार उपयोगका लागि प्रदेश सरकारहरूले उत्कट चाहना देखाइरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम ध्यानाकर्षण पत्र साउन २२ मा मधेस सरकारले बुझाएको थियो ।