राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु असंवैधानिक होइन: महामन्त्री थापा

३० श्रावण २०७९, सोमबार १३:५८

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक फिर्ता गर्दा पठाएको सन्देशबारे भने पार्टी र सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने महामन्त्री थापाले बताए ।

नागरिकता विधेयक प्रतिनिधिसभामा राष्ट्रपति भण्डारीले आइतबार १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले विधेयक पुनर्विचार गर्न पठाउने व्यवस्था संविधानमै रहेको बताएका छन् ।

‘कुनै विधेयकलाई फिर्ता पठाउन चाहनुभयो भने पठाउन पाउने व्यवस्था गरेकै हो,’ उनले भने, ‘संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नुपर्ने, असंवैधानिक भन्नुपर्ने मलाई लाग्दैन ।’ राष्ट्रपतिले दिएको सन्देश स्वीकार गर्ने वा विधेयक फेरि जस्ताको तस्तै पठाउने भन्ने संसदको विषय भएको महामन्त्री थापाले बताए ।

राष्ट्रपति र्कायलयका प्रवक्ता सागर आचार्यले आइतबार साँझा विज्ञप्तिमार्फत संसदले पारित गरेको विधेयक पुनर्विचार गर्न आवश्यक देखिएको भन्दै राष्ट्रपतिबाट संसदमै फिर्ता पठाउने निर्णय गरेको जानकारी दिएका थिए ।