स्थानीय चुनावमा गठबन्धनकै बलमा काँग्रेसले राम्रो नतिजा प्राप्त गर्न सफल भयो: प्रधानमन्त्री देउवा

३० श्रावण २०७९, सोमबार १३:३१

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन छ ।

स्थानीय निर्वाचनमा गठबन्धनकै बलमा काँग्रेसले राम्रो नतिजा प्राप्त गर्न सफल भएको उल्लेख गर्दै देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताएका हुन् । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ’, सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा देउवाले भने, ‘स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको थियो । अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको छ । गठबन्धनलाई सँगै सँगै लिएर जानुछ । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् ।’

जनता देशको मालिक भएको सम्झिन जनप्रतिनिधिहरूलाई देउवाले आग्रह गर्दै पार्टीमा कसैलाई काखा र पाखा नगरिने स्पष्ट पारे। ‘साथीहरूले जनताको दिल जित्नुपर्छ । सभापति देउवाले गाउँमा सिंहदरबारको अधिकार पुगिसकेको र ‘सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्न साथै एमसीसीबारे व्यापक भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यसलाई चिर्ने गरी लागि पर्न पनि जनप्रतिनिधिहरूलाई आग्रह गरे ।