केसी विरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने

३० श्रावण २०७९, सोमबार १२:४०

आज (सोमबार) सर्वोच्च अदालतमा चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै परेको दायर रिटमा सुनुवाइ हुँदैछ ।

शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । यो मुद्दामा सोमबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षमा केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि केसीविरुध विभिन्न कसुर देखाउदै फिल्म निर्देशकहरु पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले रिट दायर गरेका थिए ।