वर्षभरि नै पर्यटन सिजनको रुपमा विकास गरिनुपर्छ: मन्त्री श्रेष्ठ

३० श्रावण २०७९, सोमबार ११:०३

पूर्ण वर्षभरि नै पर्यटन सिजनको रुपमा विकास गरिनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताएका छन् ।

ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान) ले सोमबार राजधानीमा आयोजित निर्वाचनसहितको ४४ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । अहिले २/४ महिना मात्र सिजनल पर्यटकको रुपमा विदेशी पर्यटकहरु आइरहेकामा अब यसलाई १२ महिना बाह्रै काल पर्यटक आकर्षित हुनेगरी पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।

अब सिजनल पर्यटन मात्र होइन सर्कल अफ एयर नै पर्यटन व्यवसाय चल्नुपर्छ मन्त्री श्रेष्ठले भने, यसका लागि के गर्नुपर्नेछ, कुन कुन क्षेत्रको विकास गर्नुपर्छ सरकार तयार छ । तपाई व्यवसायीहरु पनि मुलुकको पर्यटनको प्रवर्द्धनमा आ–आफ्नो क्षेत्रबाट लाग्नुस्ु मन्त्री श्रेष्ठले भने ।

सोही अवसरमा मन्त्री श्रेष्ठले पर्यटन आकर्षण गर्नकै लागि सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रुपमा अघि सारेको बताए । यस्तै, नेपाली पर्यटन क्षेत्रको वृद्धि विकास एवम् प्रवर्द्धनमा विशेष प्राथमिकता दिदै सरकारले ८ हजार भन्दा माथिका अन्य हिमालहरूको आरोहण खुल्ला गर्नेसहित विविध ७४ बुँदे कार्य योजना ल्याएको बताए ।

पर्यटन विकासमा निजी सरकारी सबैको ऐक्यवद्धता आवश्यक रहेको र हाल पर्यटन क्षेत्रमा रहेको यावत् समस्याको समाधान खोज्नु पर्ने मन्त्री श्रेष्ठले बताए ।