प्रधानमन्त्री देउवासँग संसदमा प्रश्नोत्तर गर्न पाइएन: खगराज अधिकारी

२४ श्रावण २०७९, मंगलवार १५:१३

प्रधानमन्त्री शेरबहादुर देउवासँग संसदमा प्रश्नोत्तर गर्न नपाएको प्रमुख विपक्षी नेकपा एमालेले गुनासो गरेको छ ।

संसदप्रति सरकार र सत्तापक्ष नै जवाफदेही नरहेको उल्लेख गर्दै नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रश्न गरेका छन् । अधिकारीले प्रश्न गर्दै भने, ‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि संसदमा यो कार्यक्रम (प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर) भयो ?’

‘प्रदेश र प्रतिनिधिसभामा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्नुपर्ने सम्बन्धी ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा बोल्दै मंगलबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद अधिकारीले यस्तो प्रश्न गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीकोको परिच्छेद ९ मा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुन सक्ने सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखले प्रतिनिधिसभाको प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर कार्यक्रमका लागि निर्धारण गर्न सक्ने उल्लेख छ ।

पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टाकुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्न सक्ने भनिएको छ । तर, प्रतिनिधिसभाले नियमावलीको यो व्यवस्था कार्यान्वयन गराउनै सकेको छैन । नेकपा एमालेकै नेतृत्वमा साढे ३ बर्ष सरकार हुँदा जम्माजम्मी एक पटक प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर कार्यक्रम संचालन भएको थियो ।

प्रतिनिधिसभामा २०७५ माघ ४ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयका अनुसार चलेको छ। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा १० सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गरेका थिए । त्यसपछि दोहोर्याएर सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउन पाएका छैनन् ।

यस्तै नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा सहभागी हुन दल दर्ताका लागि निवेदन १० औं नम्बरमा दर्ता गरेको छ ।