रेणुका साह कानूनी उपचारका लागि उच्च अदालतमा

२३ श्रावण २०७९, सोमबार १४:५९

रेणुका साह कानूनी उपचारका लागि उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेछि सर्वोच्च अदालत पुगेकी छन् ।

उनले न्यायपरिषदको सिफारिस र त्यसका आधारमा कायम मुकायम प्रधानन्यायाधीशले आफूलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको दावी गर्र्दै निर्णय बदरको माग गरेकी छन् ।

गत विहीबार सर्वोच्च अदालतमा दर्ता भएको साहको निवेदन न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । न्यायाधीष साहले आफूलाई गलत ढंगले र गैरकानूनी रुपमा पदबाट बर्खास्त गरिएको आरोप लगाएकी छन् । उनले न्यायपरिषदका अध्यक्ष एवं कामू प्रधानन्यायाधीश, न्यायपरिषदका बरिष्ठतम सदस्य रहने कानूनमन्त्री अनि न्यायपरिषदका सदस्यहरुलाई विपक्षी बनाएकी छन् ।

सीटीईभीटीमा २० वर्ष कार्यरत रहँदा कानून र न्यायसँग सम्बन्धित काम नगरेको तथा त्यो अवधिमा वकालत गरेका कुनै प्रमाण पनि पेश गर्न नसकेकाले आफ्नो अयोग्यता लुकाएको न्यायपरिषदको ठहरसहित उनी बर्खास्तमा परेकी थिइन् ।

उनी उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत थिइन् । उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा कार्यरत उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको जोडबलमा उनी नियुक्त भएकी थिइन् ।