निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा छलफल गर्दै कांग्रेस

२३ श्रावण २०७९, सोमबार १०:३८

नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।

कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा छलफल गर्न लागेका हुन् ।

सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायतका विषयमा छलफल गर्न लागि देउवाले बैठक राखेको स्रोतको भनाइ छ ।

नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठकमा पार्टीका तर्फबाट कार्यदलमा रहेका नेताहरु लगायत अन्य शीर्ष नेताहरु सहभागी हुनेछन् ।