गठबन्धनमा आबद्ध दलबाट सिट बाँडफाँट गर्ने कार्यदल सदस्यमा कुन कुन नेता छन् ?

२३ श्रावण २०७९, सोमबार ०९:२३

साउन मसान्तभित्र प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटीका लागि गठबन्धनद्वारा गठित कार्यदलको पहिलो बैठक बस्दै छ ।

सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदलको बैठक बस्न लागेको हो ।

कार्यदल सदस्यका एक सदस्यले बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने बताए । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ ।

सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।