२५ वर्ष पुरानो र जीर्ण सार्वजनिक शौचालय पुनः सञ्चालन

२२ श्रावण २०७९, आईतवार ०९:२२

२५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा निर्माण गरी पुनः सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिका वडा नं –२० स्थित परोपकारमा रहेको २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा निर्माण गरी पुनः सञ्चालनमा ल्याएको हो। वडा नं –२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा पुनः प्रयोग योग्य बनाइ उक्त शौचालयलाई अपाङ्ग, वातावरण तथा महिला मैत्रीका रुपमा प्रयोग गरिनेछ ।

पुनः निर्माण गरिएको उक्त शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन् । कामपा–२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले शनिबार नवनिर्मित शौचालयको शुभारम्भ गरेका हुन् ।

काठमाडौं नगरपालिकाका प्रमुख बालेन्द्र शाहले सो सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचालयमा प्रयोग भएका वातावरण मैत्री प्रविधिका बारेमा विशेष चासो राखे । उनले भने “ सार्वजानिक शौचालय हुनु त यस्तो व्यवस्थित । महानगरपालिकाभित्र थप यस्ता शौचालय बनाउनुपर्छ । यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ । ”

काठमाडौं महानगरका प्रमुख शाहले शौचालयमा प्रयोग भएको आकासे पानी सङ्कलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।