
जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको नेपाल भ्रमणमा बेला भएको भेटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भनाई सच्याएका छन् ।
उनले सिञ्जो आवेसँग विभिन्न माध्यमबाट अनौपचारिक वार्ता हुने गरेको र जापान आएका बेला प्रत्यक्ष भेटेर कुरा गर्नका लागि जापानी दुतावास मार्फत प्रयास गरेको जापानको फुकुवकामा भईरहेको नेपाल फेस्टिभल कार्यक्रममा संवोधन गर्दै बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने–‘मेरो जापानमा आइ छाड्ने निर्णय भएको थियो एकदुई महिना अगाडि । त्यतिबेला जापानका प्रधानमन्त्री या पूर्व प्रधानमन्त्री आवेसँग विभिन्न प्रकारले भएका सम्पर्कमा कुराकानी हुने गरेको थिए । उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग फेरि एकचोटी प्रत्यक्ष भेटेर कुरा गर्ने जापानी राजदूतावासमार्फत पुर्याएको पनि थिएँ । तर दुर्भाग्य यही बीचमा उहाँको दुःखद अवसान भयो ।’
यसअघि उनले जापानको नारिता विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आबेको नेपाल भ्रमणका बेला दुई तीनपटक कुरा भएको बताएका थिए । तर आवे नेपाल भ्रमणमा नआएको तथ्य खुलेको थियो ।
नारिता विमानस्थलमा उनले भनेका थिए–‘पूर्वप्रधानमन्त्री आबेलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ । जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्व प्रधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तीन पटक कुराकानी भएको थियो र असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टक्र्यासन राम्रो भएको थियो । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धको अर्को उचाईमा लाने भन्ने मेरो इच्छा थियो तर भएन ।’
जापानबाट तत्कालीन राजा वीरेन्द्र शाह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा सन् २००० मा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए । जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको चुनावी सभामा भाषण गरिरहेका बेला असार २४ गते शुक्रबार हत्या भएको थियो।
