जिल्ला प्रशासन कार्यालय गुल्मी गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट भएको छ।
९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरूमा सर्वोत्कृष्ट भएको जिल्ला प्रशासन कार्यालय गुल्मी गत वर्ष तेस्रो नम्बरमा रहेको थियो।
प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसी र मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसालले बिहीबार बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनको मूल्याङ्कनमा गुल्मीलाई देशैभरिका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट ठहराएको हो ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेर वर्षै पिच्छे गृह मन्त्रालयले नतिजा सार्वजनिक गर्दै आएको छ ।
सो समितिले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानी प्रत्येक वर्ष प्रतिवेदन तयार गर्दै आएको छ ।
जसअनुसार ९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन भने रूकुम पश्चिम प्रशासन ९६.५ सहित चौंथो नम्बरमा परेको छ ।
गृह मन्त्रालयका आनुसार डडेलधुरा पाचौं र हुम्ला जिल्ला प्रशासन पनि पाँचौं नम्बरमा पर्न सफल भएको छ भने डडेलधुरा र हुम्लाले समान ९५ प्रतिशत अंक नै पाएको पाचौं स्थानमा रहन सफल भएका हुन् ।
