मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको कुन कुन स्थानमा वर्षा हुदै छ ?

२० श्रावण २०७९, शुक्रबार ०७:४९

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।

मौसमविद् हीरा भट्टराईले जानकारी दिए अनुसार अहिले शुक्रबार बिहान पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली हुने महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन बताइएको छ। देशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार पानी पार्ने प्रणाली मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिण नेपालबाट टाढा छ।
यसो हुँदा वर्षा कम हुन्छ’, मौसमविद् भट्टराईले भने, ‘पानी नै पर्दैन भन्ने होइन, एक दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ, ३४ अगाडिको जस्तो झरी र देशैभर वर्षा हुँदैन, सीमित ठाउँमा मात्र पानी पर्छ।’

मौसमविद् भट्टराईका अनुसार अपराह्नतिर काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गर्दै भनिएको छ ः देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ।