ओलीले विगतका गल्ती स्वीकार गरे फेरि पार्टी एकता हुन्छ: वर्षमान पुन

१९ श्रावण २०७९, बिहीबार १२:००

एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुनसक्ने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् ।

नेता पुनले एमालेले विगतमा वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको बताए । एमालेले विगतमा गरेको गल्तीको महसुस गरे एकताको ढोका खुल्ने पनि बताए ।

सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारे । ‘एमाले अध्यक्ष र मुल नेतृत्वले हिजोका गल्तीहरूको महसुस गर्यो भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ’, कार्यक्रम टफ टकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले भने, ‘गल्तीको महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्छ ।’

नेता पुनले एमाले नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गरे । दीर्घकालीन रुपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरु नरहेको स्पष्ट गर्दै उनले वामपन्थी र विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए ।

‘हिजो हामीले एउटै पार्टी बनायौं । पहिलो अध्यक्ष र प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो । उहाँले पार्टी र सरकारलाई ठीक ढंगले ड्राइभ गर्न सक्नुभएन । न सरकारको पर्फमेन्स राम्रो भयो । ६ वटा प्रदेशमा एब्सुलेट बहुमत थियो । संघमा दुई तिहाइको सरकार थियो ।

विकासको जग, सुशासनको जग बसाल्नुपर्ने थियो, त्यो भएन । पार्टी पनि पारदर्शी ढंगले सामूहिकताका आधारमा चलाउनुपर्नेमा त्यो भएन’, उनले भने, ‘फेरि यी कुराहरु करेक्सन भयो भने एकता पनि हुन्छ, तालमेल पनि हुन्छ गठबन्धन पनि हुन्छ । कुनै आश्चर्यको कुरा होइन । म वामपन्थीहरु मिल्नुपर्छ भन्नेमा हो ।’

नेता पुनले संविधान र व्यवस्था बचाउन काँग्रेससँग गठबन्धन गरेको चर्चा गर्दै तत्काल गठबन्धन टुटाउन नखोजेको स्पष्ट गरे । आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रुपमा रहेको र संसद विघटन गरेकै दिन राजीनामा दिएको स्मरण गरे ।

मन्त्री पद नै छाडेर काँग्रेससँगको गठबन्धन निर्माणमा भूमिका खेलेकाले वर्तमान सत्ता गठबन्धनसँग आफ्नो लगाव रहेको उल्लेख गरे । यद्यपि काँग्रेस एक्लै चुनावमा जाँदा यसअघिको २३ सिटबाट खुम्चिने उनले बताए ।