आज बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने

१९ श्रावण २०७९, बिहीबार ०९:१६

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा गर्ने सत्तारूढ गठबन्धनबीच सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धन दलको बैठकले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोक्ने विषयमा सहमति गरेका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा गठबन्धनका नेताहरूबीच विभिन्न मितिमा छलफल हुँदै आएको थियो। अन्ततः मंसिर ४ गते नै गर्ने भन्ने विषयमा सबै दलहरूबीच समझदारी बनेर मिति घोषणा गर्ने तयारी गरिएको गठबन्धनमै सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका दुर्गा पौडेलले बताइन्।

उनले भनिन्, ‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल हुँदै आएको थियो। मंसिर ४ गते नै निर्वाचन गर्ने भन्ने विषयमा करिब सहमति जुटेको छ।’ उनका अनुसार बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने छ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्छ भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले करिब–करिब सहमति भएको बताए। बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट र ढिलाइ भए अर्को बैठकबाट निर्वाचनको मितिबारे निर्णय हुने उनको भनाइ छ। बैठकले संसद्को कार्यकालबारे पनि सामान्य छलफल गरेको गठबन्धनकै एक नेताले बताए।

गठबन्धनमा सहभागी एक शीर्ष नेताका अनुसार चुनावको मिति निर्वाचन आयोगले सिफारिस गरेको मिति हो। सोही मितिअनुसार मन्त्रिपरिषद्बाट निर्णय हुन्छ। निर्वाचनका विषयमा सिंगो गठबन्धन दल निर्वाचन आयोगसँग स्थानीयतहको चुनाव लगत्तैदेखि परामर्शमा थियो।

सोहीअनुसार आयोगले नै सिफारिस गरेको मितिमा चुनाव घोषणा गर्न लागेको हो। प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले चुनावको तयारी र मिति घोषणाबारे सत्तासाझेदार दलसँगै विज्ञहरूसँग छलफल गरेरै मिति घोषणा गरेको हो।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले सरकारले मंसिर ४ मै निर्वाचनको मिति तोक्ने कुरा पनि आश्चर्यजनक नभएको बताए। उनले भने, ‘सरकारले कानुनी परामर्श गर्दा हामीले सबै हिसाबले २ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सिफारिस गरेका थियौं। सरकारले मंसिर ४ मा गरौं भन्ने प्रस्ताव गरेपछि हामीले त्यसमा पनि सहमति भएको हो।’

२०७४ सालमा मंसिर १० गते ३२ जिल्लाको पहिलो चरणमा र मंसिर २१ गते ४५ जिल्लाको दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २०७९ मंसिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ।