खबौंको आयात गर्ने नेपालले बेलायतीसम्मलाई पानी खुवाउँदै

१८ श्रावण २०७९, बुधबार १३:०१

नेपालले खबौंको आयात गर्छ तर नेपालको पानी बेलायतसम्म बिक्रि हुने गरेको छ । एकै वर्षमा नेपालबाट ३० करोड ५१ लाख रुपैयाँको खानेपानी निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ साउनदेखि ०७९ असार महिनासम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको खानेपानी निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट ३ प्रकारका पानी निर्यात भएको देखिएको छ। जसमा मिनरल्स वाटरको नामबाट २९ करोड ९५ लाख रुपैयाँको पानी निर्यात भएको छ। यस्तै, ५३ लाख रुपैयाँको ‘स्नो’ वाटर निर्यात भएको छ भने ३ लाख रुपैयाँको ‘प्रोसेस्ड’ पानी निर्यात भएको छ ।

तथ्यांकअनुसार यस अवधिमा नेपालबाट ५३ लाख १२ हजार लिटर पानी निर्यात भएको हो । विश्वका १२ वटा मुलुकमा नेपालबाट पानी निर्यात हुने गरेको छ। तीमध्ये छिमेकी मुलुक भारतमा सबैभन्दा धेरै २९ करोड ९५ लाख रुपैयाँको पानी निर्यात भएको छ।

यसैगरी, कतार, फ्रान्स, अस्ट्रेलिया, बेलायत, जापान र चीन लगायतका मुलुकमा समेत नेपालबाट पानी निर्यात भएको छ। कतारमा २५ लाख रुपैयाँभन्दा बढीको पानी निर्यात भएको छ भने अस्ट्रेलियामा १३ लाख र चीनमा ११ लाख रुपैयाँका खानेपानी निर्यात भएको छ।