नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र उनको पार्टीका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले पुर्जी काट्नुको कारण आफूले बुझ्न नसकेको नेकपा बहुमतका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ले बताएका छन् । उनले ‘क्रान्तिकारी’लाई तर्साउने वा अदालतमा हाजिर गराएर छाड्न सक्ने अनुमान गरेका छन् । विप्लवको साथ छाडेर नेकपा बहुमत गठन गरेका नेताहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
सरकारसँग भएका तीन बुँदे सहमतिमा मुद्दा लागेकाहरुलाई छाड्ने उल्लेख भएको बताउँदै उनले भने, ‘अहिले जुन वारेन्ट जारी भएको छ, त्यो के हो भन्ने कुरा हामीलाई बुझ्न गाह्रो भएको छ ।’
अदालतले भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, स्थायी कमिटी सदस्य सन्तोष बुढा मगर, केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दीपक’, स्कूल विभाग सदस्य भरतबहादुर बम, मोहनबहादुर कार्की, पदमबहादुर राई लगायतका नेताहरु समेत पक्राउ पुर्जी जारी गरेको छ।
