
अमेरिकी राष्ट्रपति ७९ वर्षीय जो बाइडेनलाई फेरि कोभिड १९ को सङ्क्रमण देखिएको छ ।
शनिवार गरिएको परीक्षणमा राष्ट्रपति बाइडेनलाई कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका डाक्टरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
कोभिडको सङ्क्रमण देखिएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमै आइसोलेशनमा बसेका खबरमा उल्लेख छ । उनलाई जुलाई २१ तारिख अर्थात साउन ५ गते पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनले आफूलाई कुनै लक्षण नदेखिए पनि आफ्नो सम्पर्कमा आउनेलाई सतर्क रहन आग्रह गरे।
गएको मङ्गलवार र शुक्रवारको बीचमा चार पटक परीक्षण गर्दा राष्ट्रपति बाइडेनको नतिजा नेगेटिभ आएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डाक्टरले बताएका छन् ।
