
नेकपा एमाले विचार निर्माणका, सँगठन निर्माण र परिचालनका हिसावले संसारका अन्य सबै पार्टीभन्दा ब्यवस्थित र सुदृढ रहेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।
उपाध्यक्ष पौडेलले सुदृढ पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित भएको भन्दै चिन्ता गर्दै शनिबार गृहनगर बुटवलमा पार्टी लुम्बिनी प्रदेशको नेतृत्वबीच यस्तो बताएका हुन् । एमाले प्रदेश कमिटीले आयोजना गरेको संगठन व्यवस्थापन तथा परिचालन कार्यशालामा एमालेको सार्बभौमसत्ता एमालेका सदस्यमा निहीत रहेकोले सिद्दान्त,नीति र कार्यक्रम कार्यकर्ताले चाहेअनुसार नै हुने तर सिद्दान्तको बर्को ओढेर गुटवन्दी गर्ने अधिकार कसैसँग पनि नभएको बताए ।
आगामी निर्बाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने, बिपक्षीले गरेका गलत कामको भण्डाफोर गर्ने र अन्तरपार्टी ब्यवस्थापन गर्ने काममा तत्काल लाग्न समेत उनको निर्देशन दिए।
‘हामीले सरकारमा रहँदा दुरगामी प्रभाव पार्ने काम धेरै गरेका छौं, अरुले त्यसलाई आफैले गरेको जस्तै गरी प्रचार गरेका छन्, हाम्रो नेतृत्वमा भएका ती कामलाई ब्यवस्थित ढंगले जनतामा लैजान जरूरी छ, यो तपाईहामी सबैको जिम्मेवारी हो’ उनले भने ।
आगामी निर्बाचनमा कार्यक्षेत्रको सुझाव, जित्नसक्ने संभावना र जितिसकेपछि पनि उचित काम गर्ने ब्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने नीति रहेको उनले बताए । स्थानीय चुनावमा एकलरुपमा काँग्रेस वा अरू कुनै पार्टी नेकपा एमालेसँग नलडेको बरू गठवन्धन लडेको स्मरण गराउँदै चौतर्फी घेराबन्दीका वीचमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको तथ्य उनले प्रस्तुत गरेका थिए ।
