
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (आइतबार) बस्ने भएको छ। उक्त बैठकमा संसदीय समितिबाट छानबिनपछि क्लिन चिट पाएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे छलफल हुने बताइएको छ ।
एक नेता अनुसार बैठकले अर्थमन्त्री शर्मालाई नै बनाउने कि अरु विकल्प खोज्ने भन्नेबारे निर्णय लिने जानकारी दिए। यद्यपि पार्टीले मन्त्रीहरुको हेरफेर गर्ने मूड नबनाएकाले उनी नै अर्थमन्त्री बन्ने सम्भावना बढी रहेको ती नेताको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो चयनका विषयमा पनि छलफल हुनेछ ।
यस्तै अध्यक्ष प्रचण्डले शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समिति, राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै अन्तिम पटक प्रधानमन्त्री बनेर भावी सन्ततिले सम्झनयोग्य काम गर्ने मन भएको बताए ।
