
बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पर्साका विभिन्न क्षेत्रबाट उम्मेदवार बनेका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने निर्वाचन कार्यतालिकामा कानूनी प्रावधान छ । पर्सामा गत स्थानीय चुनावमा ३ हजार ४५८ उम्मेदवार बनेकामध्ये १.२७ प्रतिशत अर्थात् ४४ जनाले मात्र खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । जिल्लाका १४ पालिकामा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका ३ हजार ४५८ मध्ये ४४ जनाले मात्र निर्वाचन खर्च पेश गरेका हुन् ।
पर्सामा वीरगञ्ज महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका रहेका छन् । उम्मेदवारहरुले तोकिएको समयभित्र चुनाव खर्च विवरण पेश नगरे हरेक उम्मेदवारलाई नियमअनुसार जनही ५ हजार रुपैयाँ जरिवाना हुनसक्ने नियम छ ।
