लमजुङमा २२ हजार बढीले गरे स्वास्थ्य बीमा

१३ श्रावण २०७९, शुक्रबार १६:१८

लमजुङमा ०७७ माघदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ०७९ चैत मसान्तसम्म २२ हजार २६१ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

विपन्न समुदायलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा लमजुङमा ३३ सय ८९ परिवार आवद्ध भएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका नागरिकको सहभागिता क्रमिक रूपमा बढ्दै गएको छ ।

जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी अनुपमा रेग्मीका अनुसार स्वास्थ्य विमामा आवद्धमध्ये जेष्ठ नागरिक ५२ सय ११ जना, महिला स्वास्थ्य स्वयंसेविका २२२ जना, क वर्ग पूर्ण अशक्त अपांगता भएका २३० जना र एचआईभी संक्रमिति ५८ जना छन् । सोबाहेक कुष्ठरोग देखिएका एकजना छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको लक्षित वर्ग अनुदान सहयोग स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत एक हजार बढी परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् । जसमध्ये ख वर्ग अति अशक्त अपांग परिवारतर्फ ९९२ जनाले स्वास्थ्य विमा गराएका छन् भने सहिद परिवारतर्फ १६, द्वन्द्वपीडित परिवारतर्फ २४ र मिर्गौलापीडित परिवारतर्फ पाँचजना स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।

प्रदेश सरकारले सम्वन्धित वडा तथा पालिकामा रहेका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमामा आवद्ध हुन, अशक्त अपांग परिवार, सहिद परिवार, द्वन्द्वपीडित र मिर्गौलापीडित परिवारलाई आग्रहसमेत गरेको छ । कार्यक्रमका लागि जिल्लामा ७१ जना दर्ता सहयोगी परिचालन गरिएको छ । नागरिकले वडावडामा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गराउन सक्ने स्वास्थ्य बीमा बोर्ड लमजुङका दर्ता अधिकारी रेग्मीले वताइन् ।

स्वास्थ्य बीमामा आवद्ध हुन पाँचजनासम्म सदस्य रहेको परिवारले वार्षिक ३५ सय र पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ ।

बीमामा आवद्ध भएका पाँचजनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म नि:शुल्क स्वास्थ्य सेवा उपलव्ध हुने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क नि:शुल्क हुने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारले सूचीकृत अस्पताल, स्वास्थ्य संस्थाबाट एक हजार ११८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।