खतरा दिनप्रतिदिन बढ्दो छ: प्रचण्ड

९ श्रावण २०७९, सोमबार १७:२४

क्रान्तिकारीहरुले मिहेनत गरेर जाँदा त्यो गणतन्त्रलाई बिस्तारै जनताको गणतन्त्र र समाजवादी गणतन्त्रतिर लैजान सकिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसका अवसरमा सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, “हामीले सकेनौं भने त्यो बुर्जुवा गणतन्त्र हुने खतरा पनि छ भनेर लेखिएको छ । आजको दिनमा हेर्ने हो भने राजनीति त्यसको वरिपरि घुमिरहेको छ ।”

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले आफूहरुले लडेर ल्याएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध जेहाद छाड्न थालेको बताए । आज ठ्याक्कै चुनवामा भनेको जस्तो कसको गणतन्त्र हुने हो भन्ने लडाईं चलिराखेको छ’, उनले भने ।

निर्वाचनमा इमान्दार र श्रमजिवी जनताका प्रतिनिधिले हार्ने दलाल, पुँजीपति र पैसावाल आउने खतरा बढेको उनको भनाइ थियो । ‘यो निर्वाचन प्रणालीमा धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकडत गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । जनताले र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भन्ने कुरा सपनाजस्तो हुने भयो । आउने को भए दलाल पुँजिपति आउने भए । पैसावालहरु आउने भए । त्यो खतरा दिनप्रतिदिन बढ्दो छ ।”

करोडौं खर्चिएर सांसद भएपछि मन्त्री वा प्रधानमन्त्री बन्नैपर्ने प्रवृत्ति हाबी भएको भन्दै उनले मन्त्री भएपछि लगानी उठाउन भ्रष्टाचार गर्ने गरिएको उल्लेख गर्दैशासन प्रणालीका दृटिष्णटकोणले पनि संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको उनले स्पष्ट गरे ।