संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको छ ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेका हुन् ।
कार्ययोजनाले प्रमुख रुपमा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको छ । यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्षमा जम्माजम्मी २ लाख पनि पर्यटक भित्रिन सकेन । तर, खर्च भने ७० करोड माथि भएको बताइएको छ । कोभिड–१९ को प्रभाव कम भएसँगै विस्तारै सुध्रँदै गएको विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै कार्ययोजनाले सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिने बताएको हो ।
आर्थिक वर्ष शुरु भएसँगै पर्यटन क्षेत्रमा देखिएको सुधारात्मक संकेतपछि दुई तीन महिनाभित्र यस्तो घोषणा गर्न सकिने मन्त्रालयले जनाएको छ ।
सोही कार्ययोजनालाई सफल पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान समेत चलाउने बताएको छ । यस्तै, काठमाडौंमा पर्यटन केन्द्रित ‘होप अन होप अफ सिटी बस’ सञ्चालन गर्ने घोषणा समेत कार्यपत्रमा प्रस्तुत गरिएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गरिने कार्ययोजनामा उल्लेख छ । यो कार्यको सुरुवात दुई महिनाभित्र गरिने जनाइएको छ ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । पर्यटन पुनरूत्थानका लागि सरकारले आन्तरिक पर्यटनलाई अभिवृद्धि गर्ने लक्ष्य पनि राखेको छ । कार्ययोजनामा ७३ बुँदामा समेटिएको छ ।
