नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिए ।
त्यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ । बैठकले मौद्रिक नीति पारित गर्ने छ । सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिने छ ।
मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए । त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए ।
मौद्रिक नीति मूल्यवृद्धि नियन्त्रणमा केन्द्रित हुनेगरी बनाइएको छ । सामान्यतया मौद्रिक नीतिले मुद्रा आपूर्ति, ऋण र व्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक वृद्धि र रोजगारी सृजनालाई सहयोग पु-याउने उद्देश्यका साथ मौद्रिक नीति बनाइएकाे छ ।
उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, मूल्य र ज्याला स्थिरता, बाह्य क्षेत्रमा स्थायित्व कायम राख्ने, आर्थिक स्थायित्व कायम गर्ने जस्ता पूर्वनिर्धारित समष्टिगत आर्थिक लक्ष्यहरू हासिल गर्ने गरी मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंक स्रोतले बतायो ।
अघिल्लो मौद्रिक नीतिबाट सबैभन्दा बढी सेयर लगानीकर्ता असन्तुष्ट बनेका थिए । यसपटकको मौद्रिक नीति यस्ता विषयमा भन्दा पनि उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिने गरी आउने बताइएको छ ।
त्यसो त, नेपाल राष्ट्र बैंकले वस्तु आयातमा पूर्ण बन्देज त लगाउन पाउँदैन तर वस्तु आयात कर्जा प्रवाह रोक्ने मौद्रिक नीति भने आउनसक्ने संकेत गभर्नर अधिकारीले दिएका छन ।
