एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरुले नै उनको खोजी गर्नुपर्ने

४ श्रावण २०७९, बुधबार १४:२०

सांसद गजेन्द्र बहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना केन्द्रीय विभागको सदस्य एम अधिकारीको खोजी गर्न सम्पूर्ण अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बौल्दै उनले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरुले नै उनको खोजी गर्नुपर्ने बताएका हुन् ।

‘हाम्रो गाउँघरतिर कुखराको चल्ला हराए पनि खोजी हुन्छ, यहाँ सबैभन्दा ठूलो पार्टीको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी अहिले न सरकार गर्छ, न प्रतिपक्षी गर्छ । मैले अनौठो मानिरहेको छु,’ उनले भने ।

सरकार एम अधिकारीको खोजी गर्ने जिम्मा विद्यार्थीलाई दिएको उनले जनाए । प्रतिपक्षी दल एमाले भने आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामरा खोज्दै हिडेको आरोप उनले लगाए ।

‘यहाँ कस्तो विडम्बना छ भने सीसी क्यामरा खोज्ने समिति बनेको छ, तर महत्वपूर्ण मान्छे खोज्न समिति बनेको छैन । अब यो कसले खोजीदिने ?,’ उनले प्रश्न गरे ।

सरकार र प्रतिपक्षी दलले बेवास्ता गरेका कारण अब एम अधिकारीको खोजीमा अधिकारी थर भएको सबै लाग्नु पर्ने उनले बताए ।

‘हाम्रो गाउँघरमा महत थरको मान्छे हरायो भने त्यो अरुको जिम्मा हुँदैन, महत थरकै मान्छेहरु खोज्छन् । हरायो भने अपुताली खाने जिम्मा पनि महतहरुकै हुन्छ, खोज्न काम पनि उनीहरुकै हुन्छ । यहाँ एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरुले खोज्न पर्यो । अरु कसलाई भनु म, अब यो खोज्ने जिम्म अधिकारी थर भएकालाई दिनुपर्यो,’ उनले भने ।