विष्णु पौडेलले पहिला आर्थिक वर्ष ०७८÷७९ को बजेट ल्याए । उनी नेतृत्वको सरकारलाई सर्वोच्चले फालिदिएपछि देउवा नेतृत्वको सरकार बन्यो ।
त्यो सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेटमार्फत बजेट ल्याएपनि बजेट कार्यान्वयनमा सरकारको असफलता देखिएको छ ।
विगतका वर्षहरूजस्तै यो आवमा पनि सरकार बजेटका लक्ष्यमा पुग्न असफल देखिएको हो । चालुखर्च तर्फ १० खर्ब ६५ अर्ब २९ करोड बजेट ल्याएको सरकारले ९ खर्ब ६१ अर्ब ४७ करोड खर्च गरेको छ । जुन खर्च लक्ष्यको ९० दशमलव २५ प्रतिशत हो ।
पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब ९ करोड बजेट ल्याएको सरकारले २ खर्ब १६ अर्ब ३७ करोड अर्थात ५७ दशमलव २३ प्रतिशत खर्च गरेको छ । सरकारले असार एक महिनाको अवधिमा मात्र ७९ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ ।
३१ जेठ २०७९ मा १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको पूँजीगत खर्च ३२ असार २०७९ मा आइपुग्दा २ खर्ब १६ अर्ब पुगेको छ । खासगरी आर्थिक वर्षको प्रारम्भिक दिनमा खर्चलाई गति दिन नसक्दा अन्ततः आर्थिक वर्षको अन्त्यमा खर्चमा चाप परेको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४३ करोडको बजेट ल्याएको सरकारले १ खर्ब १८ अर्ब ३९ करोड अर्थात ६२ दशमलव ५ खर्च गरेको छ । यो रकमबाट सरकारले ऋणको ब्याज तिर्ने काम गरेको छ ।
कुल बजेट १६ खर्ब ३२ अर्ब ८२ करोड ल्याएको सरकारले यो आर्थिक वर्षमा १२ खर्ब ९२ अर्ब २४ करोड अर्थात ७९ दशमलव ३९ सरकारको खर्च गर्न सफल भएको छ ।
यस्तै, महालेखा नियन्त्रकको कार्यालयअनुसार सरकारले शनिबार मध्यरातसम्म १० खर्ब ६० अर्ब राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८९।८३ प्रतिशत मात्रै हो । यो वर्ष सरकारले ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
बजेट शीर्षक खर्च
चालु ९ खर्ब ६१ अर्ब ४७ करोड
पूँजीगत २ खर्ब १६ अर्ब ३७ करोड
वित्तीय व्यवस्था १ खर्ब १८ अर्ब ३९ करोड
कुल १२ खर्ब ९२ अर्ब २४ करोड
