
देशलाई समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।
महासचिव पोखरेलले राष्ट्रको समृद्धि हासिल हुन नसक्ने र गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने बताउँदै राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् ।
प्रेस चौतारी नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, ‘दुनियाँमा कहीँ पनि गठबन्धनको माध्यमबाट राष्ट्रले समृद्धि हासिल गरेको इतिहास पढ्न पाउँदैनौं । गठबन्धन भनेको एक प्रकारले संकटको व्यवस्थापन मात्रै हो, समृद्धिको आधार होइन ।’
उनले अगाडि भने, ‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदाबाजी, राजनीतिक अस्थिरता, वैदेशिक चलखेललाई निम्ताएको छ । समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ । अब मुलुकमा धेरै राजनीतिक दलहरुको आवश्यकता छैन ।’
यस्तै नेपाली कांग्रेसका जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टी पदाधिकारीहरूले चर्को रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।
कांग्रेस सरकारले डेलिभरी दिन नसकेको देखी पार्टी सञ्चालनमा शेखर कोइराला समूहलाई बाइपास गरेर एकलौटी गरेको लगायतको विषयलाई लिएर जारी बैठकमा पदाधिकारीहरूले सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।
