जनता
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र रुखबाट एक दुईवटा बोक्रा झर्दैमा रुख नलड्ने बताएका छन् ।
यादवले केही दिन अघि जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सहित केही नेतालाई पार्टीबाट निष्काशन गरेका हुन् ।
वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘कुनै रुखमा एक दुईवटा बोक्रा झर्दैमा रुख त लड्दैन नि, एकदुई जना चोइटिएर जाँदैमा केहि अर्थ राख्दैन । वीरगञ्जमा के अर्थ राख्छ र ? ’
उनले डा. भट्टराई लगायत नेतामाथि विधानको प्रक्रिया अनुसार कारबाही अघि बढ्ने जानकारी दिए ।
‘उहाँले (डाक्टर बाबुराम भट्टराई) पार्टी विभाजन गर्नेगरि जुन षडयन्त्र गर्नुभयो । पार्टीको विधान अनुशासन, राजनीतिक संस्कृति र पार्टी हित विपरीत कार्य गरेको ठहर गर्दै सम्पूर्ण पद र जिम्मेवारीबाट मुक्त गरिएको छ । अरु कुरा उहाँको गतिविधि र विधानको व्यवस्था अनुसार अघि बढ्छ,’ यादवले भने, ‘सच्चिनुभयो भने बेग्लै कुरा हो, त्यहि दिशामा अघि बढेर अर्को पार्टी खोल्न लागिसक्नुभयो, अर्को पार्टी खोल्नुभयो भने त कति वटा पार्टीमा सदस्य रहनुहुन्छ त उहाँ ?’
बाबुराम भट्टराईले पार्टी जातीय र क्षेत्रीय भयो भनेर गलत भ्रम छरेको अरोप उनले लगाए । यादवले नेतृ रेणु यादवले भने पार्टी नछोडेको बताए । भने, ‘जहाँसम्म रेणु मेडमको कुरा छ । रेणु मेडमले पार्टी छोड्नुभएको छैन । एकछिनको यसो आक्रोश भडासहरु निकाल्ने गर्नुहुन्छ उहाँले त्यहि हो ।’
स्थापनादेखि अहिलेसम्म ६७–६८ पटक कम्युनिष्ट पार्टी फुटेको तर जसपामा तीन चार चोटी आउने जाने क्रम देखिएको बताउँदै उनले यसबाट झनै पार्टी निर्माण हुँदै अघि बढ्दै गएको दावी गरे ।
यादवले आफूले मधेसीको एजेण्डालाई नभुलेको दाबी पनि गरे । ‘मधेसी, जनजातिको मुद्दा, पहिचानको मुद्दा उठाए, त्यसैले बाबुरामले भनेपछि अरुले भनिरहनुपर्छ र ?’ उनले भने ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् ।
