के गभर्नर अधिकारी एमाले कार्यकर्ता हुन त ?

३० असार २०७९, बिहीबार ११:४३

बजेट निर्माण गर्दा अनधिकृत र बाहिरका व्यक्तिलाई सहभागी गराएको आरोपमा अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएको धेरै दिन नबित्दै अर्को एक आरोपले गभर्नर महाप्रसाद अधिकारीको नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ ।

राष्ट्र बैंक ऐन अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर, डेपुटी गभर्नर र सञ्चालकमा नियुक्त हुन योग्य नहुने बताएपनि बहालवाला गभर्नर अधिकारी नै एम अधिकारीको नामबाट एमालेको केन्द्रीय विभागमा रहेको खुलासा भएपछि गभर्नर अधिकारी विवादमा परेका छन । यसले राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ ।

सार्वजनिक भएको नेकपा एमालेको पत्र र त्यसमा उल्लेख ‘एम अधिकारी’ भन्ने शब्दले संसदभित्र र बाहिर तरंग उत्पन्न गरेसँगै गर्भनर अधिकारी नैतिक संकटमा परेका छन । एमालेभित्रका विभागहरु र तीनका नेतृत्वहरुको कार्यविभाजन गरिएको पत्रको आर्थिक योजना विभागको सदस्यहरुको सूचिको दोस्रो पंक्तिमा ‘एम अधिकारी खोटाङ’ उल्लेख छ । हो, यहाँ उल्लेख एम अधिकारी नै महाप्रसाद अधिकारी हुन भन्दै सत्तापक्ष सांसदहरु अधिकारी र एमालेविरुद्ध खनिएका छन । अब खनिने र बिरोध गर्ने पालो सत्तापक्ष दलको पोल्टामा आएको देखिएको छ ।

सञ्जालमा सार्वजनिक भएको पत्रका उल्लेख पंक्तिलाई लिएर विशेषगरी सत्तारुढ दल र तीनका सांसदहरुले समेत एम अधिकारी भनेको गर्भनर महाप्रसाद अधिकारी नै हुन भन्दै बुधबार दिनभर संसदमा हंगामा गरे । गर्भनर अधिकारीविरुद्ध उनीहरुले व्यंग्य, आलोचना, छानविन र राजीनामा मागहरु गरे। यद्यपी गर्भनर अधिकारीले व्यक्तिगत रुपमा यसमा कुनै प्रक्रिया दिएका छैनन्। र, नेकपा एमालले पनि औपचारिकरुपमा केही भनेको छैन ।

विशेषगरी बुधबारको संसद बैठकमा सत्तारुढ दलका सांसदहरुले चर्काे स्वरमा छानविनको माग गरेका छन । उनीहरुले एमालेका अध्यक्ष केपी शर्मा ओली र गर्भनर मिलेर नेपालको अर्थतन्त्र ध्वस्त पार्न लागेको आरोप लगाएका छन्। कतिले नामै किटेर भने, कतीले यी दुईबीच ‘बा र छोरा’ को सम्बन्ध रहेको भन्दै आलोचना गरेका छन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा र छानविनको माग राख्दै निरन्तर संसद अवरुद्ध पारेपछि एकसाता अघि अर्थमन्त्री शर्मा र उनको दल माओवादी केन्द्र पछि हटेर अर्थमन्त्री बाहिरीनु परेको थियो । यो प्रकरण छानविनका लागि संसदीय समिति गठन भयो । र, समितिको संयोजक तोक्नका लागि बुधबार पनि छलफल भइरहेको छ ।

यसअघि गर्भनर महाप्रसाद अधिकारीले आफूलाई असहयोग गरेको आरोप तत्कालिन अर्थमन्त्री शर्माले लगाएका थिए । शर्मा र अधिकारीबीचको सम्बन्ध चिस्सिएको थियो । यस मुद्दामा पनि एमालेले अर्थमन्त्री शर्माले शंकास्पद विदेशी पैसालाई वैधानिकता दिन गर्भनर अधिकारीलाई दवाब दिएको आरोप लगाएको थियो । एमालेले गर्भनर अधिकारीलाई बचाउदै आएको थियो ।
गभर्नर अधिकारी विवादमा पर्दा सडकदेखि सदनसम्म उनको नैतिकतामाथि प्रश्न उठाइएको छ भने राजीनामाको माग समेत गरिएको छ ।