गठबन्धन सरकार जनताका लागि समस्या र गैरजिम्मेदार बन्यो: गोकर्ण विष्ट

२९ असार २०७९, बुधबार १०:५६

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार एक वर्ष पूरै असफल रहेको नेकपा एमालेका नेता गोकर्ण विष्टले टिप्पणी गरेका छन्।

गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, व्याप्त भ्रष्टाचारकाबीच सरकार सञ्चालनका न्यूनतम विधि, मूल्य र मान्यतामाथि खिल्ली उडाउने गरी सकिएको आज बुधवार सामाजिक सञ्जालमार्फत नेता विष्टले बताए हुन् ।

नेता विष्टले सामाजिक सञ्जालमा लेख्छन् “गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारकाबीच राज्य संचालनका न्युनतम विधि, मूल्य र मान्यता माथि खिल्ली उडाउनेगरी बिते । राष्ट्रिय स्वाधिनता र आत्मसम्मान कमजोर बन्यो । राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो । सरकारले नागरिकलाई सेवा पुर्याउनुको साटो थप आहत पुर्याउने काम गर्यो । न किसानले समयमा मल पाए न विद्यार्थीले पढ्ने पुस्तक । यो सरकार जनताका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र हैन गैरजिम्मेदार बन्यो । समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रह्यो ।”

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले  गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक पूर्ण अधिकार दिनुपर्ने बताएक छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीले मंगलबार ओलीलाई भेटेको हो ।

भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले निकै सकरात्मक रहेको बताए । ओलीले गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने बताए ।