अर्थमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्लान ?

२१ असार २०७९, मंगलवार १२:००

प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्न दबाब परेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले गरेको गम्भीर अपराध लुकाउन अर्थ मन्त्रालयको सीसीटीभी फुटेज डिलिट गराएपछि उनीलाई बर्खास्त गर्न सदनदेखि सडकबाट दबाब पैदा हुन थालेको हो । यसबारेमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदनमा चर्को रुपमा उठाइरहेको छ भने सत्तारुढ दलका सांसद्हरुले पनि राजीनामा दिन अटेर गरिरहे बर्खास्त गर्नुपर्ने बताएका छन ।

सत्तासिन नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले बजेट निर्माणका विषयमा उत्पन्न विवादमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउनुपर्ने बताए । सांसद थापाले अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठिसकेपछि यो विषय यतिक्कै छोड्न नहुने बताए । उनले करका दर चलाउने र बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराउने विषय सामान्य नभएको जिकिर गरे ।

‘करको दर भनेको सामान्य कुरा होइन । सामान्य मानवीय त्रूटि भयो भनेर जान पाउने कुरा पनि छैन । यो उठ्यो, यत्तिकै गयो भनेर हुँदैन,’ थापाले भने ।
बजेट निर्माणको समयको सीसीटीभी फुटेज मेटिएको भन्ने अर्थ मन्त्रालयको जवाफले झन् प्रश्न उब्जाएको उनको भनाइ थियो । ‘अब भने यसमा तत्काल प्रधानमन्त्रीले एक्सनमा जानुपर्छ,’ थापाले भने ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेता लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले गरेको गम्भीर अपराध लुकाउन अर्थ मन्त्रालयको सीसीटीभी फुटेज डिलिट गरिएको बताउछन । सांसद समेत रहेका नेता कर्णले मन्त्रालयमा रहेको सीसीटीभी फुटेज मेटाएर सरकारले सबूत प्रमाण मेटाउन खोजेको आरोप लगाए ।
‘बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने प्रश्न उठिसकेपछि आफू निर्दोष छु भन्नका लागि पनि त्यो सीसीटीभी फुटेज राख्नुपर्दथ्यो,’ कर्णले भने, ‘फुटेज डिलिट गरेर सरकारले सबूत प्रमाण मेटाउन खोजेको देखियो । सबूत प्रमाण मेटाएर कोही व्यक्ति निर्दोष हुन सक्दैन। यो गम्भीर अपराध हो ।’

सांसदहरूले संसद्मा पटक पटक यो कुरा उठाए पनि सरकारले वास्ता नगरेको कर्णको भनाइ छ । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको आरोप लागेका अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने नागरिक अगुवाले माग गरेका छन । सोमबार सांसद्मा बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनाधिकृत मानिस राखेर केही घरानाका लागि फाइदा पुग्ने गरि बजेट निर्माण गरिएको भन्दै गम्भीर टिप्पणी गरेका थिए ।

‘केही घरानाका अनुहार हेरेर बजेट निर्माण गरिएको छ । घराना विशेषका लागि बजेट किन निर्माण भयो । यस्तो बजेट बनाउनका लागि अर्थमन्त्रालयका कर्मचारीहरु उनीहरुको भर परिएन बजेट बनाउदा केही रणनीति अन्तर्गत अनाधिृकत मानिसहरु राखेर बजेट बनाइएको छ,’ उनले भने, ‘सेटिङ गरिकन कुन उद्योगका लागि के छुट दिनुपर्छ अरु उद्योगलाई कसरी सुकाइदिन सकिन्छ भन्ने हिसाबले गरियो । संसद्मा प्रश्न उठेपछि जवाफ चाहिन्छ की चाहिँदैन ?’
अर्थमन्त्रीले सीसी क्यामरा मेटियो भनेर सुख नपाउने बताउँदै ओलीले तत्काल संसदीय समिति बनाएर छानविन हुनुपर्ने बताए । प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई अनुशासनमा राख्न नसकेको उनको भनाइ छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार राजीनामा दिएर छानविनका लागि मार्गप्रशस्त गर्न देउवाले शर्मालाई भनिसकेका छन । तर पनि शर्माले अटेर गरिरहेका छन । अब देउवाले बर्खास्त गर्लान नगर्लान हेर्न बाँकी छ ।