
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज केन्द्रीय सदस्यहरूले आज माओवादी केन्द्रको केन्द्रीय समितिको जारी बैठकमा आ–आफ्ना धारणा राख्दैछन् ।
आज दिनभर सदस्यहरूले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि समीक्षात्मक रिपोर्टिङ गर्ने कार्यतालिका रहेको नेता गणेश साहले जानकारी दिए । साहका अनुसार बैठकले पोलिटब्यूरो र स्थायी कमिटी बनाउने भएपनि पदाधिकारीबारे स्पष्ट भइसकेको छैन । केन्द्रीय समितिको एक तिहाइ पोलिटब्यूरो, पोलिटब्यूरोको एक तिहाइ स्थायी समिति रहने व्यवस्था छ ।
‘बैठकले फ्लोरबाट राजनीतिक प्रतिवेदन, स्थानीय तहको समीक्षा, आगामी निर्वाचनको तयारीबारे केन्द्रीय सदस्यहरूले आज दिनभर आ–आफ्ना धारणा राख्नेछन्’, नेपालवाचसँग उनले भने, ‘मंगलबार बस्ने बैठकले आगामी कार्यदिशा, संगठनात्मक ढाँचा सम्बन्धमा एउटा निष्कर्षमा पुग्नेछौं ।’
आइतबार बसेको बैठकले केन्द्रीय समिति विस्तार गर्नुको साथै सातै प्रदेशबाट प्रदेश अध्यक्षहरूले समीक्षात्मक रिपोर्टिङ गरिएका थिए । पदाधिकारीमा आकांक्षी धेरै भएकाले महाधिवेशन सकिएको ६ महिना वितिक्दासमेत पदाधिकारी गठन हुन सकेको छैन ।
महासचिवमा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र वर्षमान पुनबीच हानाथाप रहेकाले निर्वाचन अघि पदाधिकारी गठन नगर्ने मनस्थितिमा अध्यक्ष प्रचण्ड रहेका छन् ।
यस्तै, प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । एमाले अध्यक्ष ओलीले र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आज दिउँसो प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी दिएका हुन्।
