१३ लाख किलो चुइङगम आयात

१९ असार २०७९, आईतवार १०:२५

चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख २ हजार १ सय ९५ किलो चुइङगम आयात भएको छ। एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइ जस्तै ‘मुखको तीतो मेट्न’का लागि चपाइनै त्यस्ता वस्तुको आयातका लागि मात्रै झण्डै ४१ करोड रुपैयाँ बराबरको लगानी गरिएको छ।

भन्सार विभागका अनुसार सो परिमाणको चुइङगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ। नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइङगम आयात हुने गरेको छ। त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको रकम बाहिरिएको छ।

एघार महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ। यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता खानेकुराको आयातसमेत करोडौँमा हुने गरेको छ। ती खाद्य पदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन् । तर जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ।

चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलो बराबरको त्यस्ता खानेकुरा आयात भएको छ। त्यसका लागि मात्रै मुलुकबाट ६६ करोड ६५ लाख २५ हजार बराबरको रकम बाहिरिएको छ। यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमासमेत अर्बौं रकम विदेशिने गरेको देखिन्छ । चालु आवको जेठ मसान्तसम्म एक अर्ब ३७ लाखभन्दा बढीका बिस्कुट आयात भएको छ।

त्यस्तै पापड १९ करोड ९४ लाख, मकैको खानेकुरा(कर्नफ्लेक्स) १८ करोड ४९ लाखमा आयात भएको विवरण छ। अनावश्यक ठानिएका यस्ता सामग्रीको आयातमा कडाइ गर्नुपर्ने माग पनि नउठेको होइन। तर सरकारी निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन। अर्थमन्त्री जनार्दन शर्माले देशभित्रै उत्पादन हुने बिस्कुटको प्रयोग सरकारी निकायमा अनिवार्यरुपमा गर्न यसअघि नै प्रक्रिया अगाडि बढाइसकिएको बताएका छन्।

विदेशी मुद्राको सञ्चिति ओरालो लागेको बेला अनावश्यक ठानिएका यस्ता वस्तुको तत्काल आयात प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठेको छ। यी सामग्री अत्यावश्यक पनि नभएकाले सरकारले सामान्यरुपमा कडाइ गर्नेबित्तिकै नियन्त्रण भइहाल्ने सरोकारवालाको भनाइ छ।