प्रचण्ड भन्छन् : नेपाल पर्वतीय पर्यटनका लागि दुनियाँकै सबैभन्दा उर्वर हो

१८ असार २०७९, शनिबार १३:५०

नेपाल पर्वतीय पर्यटनका लागि दुनियाँकै सबैभन्दा उर्वर रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

शुक्रबार नुवाकोटको ककनीमा नेपाल पर्वतारोहण संघद्वारा आयोजित दिवंगत आरोहीहरुको शालिक आरोहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पर्वतारोहीको जीवन रक्षा, सम्मान र पर्वतीय पर्यटन विकासका निमित्त नेपालमा पर्यटन विश्वविद्यालयको निर्माण गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको समेत बताए।

‘हामीले नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ। पर्यटन विकास, पर्वतीय विकास र पर्यटनका लागि त्यहाँबाट पठन पाठन हुनसक्छ, अध्ययन अनुसन्धान हुनसक्छ,’ उनले भने । उनले शिक्षा र पर्यटन मन्त्रालयका छलफलमा पर्यटन विकासमा र पर्यटन विश्वविद्यालय स्थापनाका लागि छलफल चलाएको पनि बताएका छन् । त्यसका लागि आफ्नो ठाउँबाट पहल गर्ने अध्यक्ष प्रचण्डले प्रतिवद्धता गरे ।

 

उनले कार्यक्रमा १० पटक सगरमाथा आरोहण गरेका आङदावा शेर्पा र सफल महिला पत्रकार आरोहीले पर्वत आरोहण मार्फत पर्यटन विकासमा योगदान पुर्याएको बताए। ककनीको विकासका लागि आफूले अर्थमन्त्री वर्षमान पुन र उर्जामन्त्री पोष्ट बहादुर बोगटी हुँदा बजेट विनियोजन गरेको बताउदै फेरि पनि ककनीको विकासमा पहल गर्ने बताए। पर्वत आरोहण संघले कसैको परिवारको सम्मान भन्दा पनि ८,००० भन्दा माथिका हिमाल आरोहण गर्नेहरुको सबैको सम्ममान गर्ने गरी कार्यक्रम गरिएको भनेपछि आफु सहमत भएको बताए ।

पर्वत आरोहीलाई सम्मान गर्ने र उनका परिवारमा सहयोग पुर्याउने गरी भुमिका खेल्न पर्वत आरोही संघलाई आग्रह गरे। अध्यक्ष प्रचण्डले देशको समग्र विकासको योजना र भिजन अनुसार काम गर्न लिडरसिपको भुमिका महत्वपूर्ण हुने भन्दै त्यहि अनुरुप माओवादीलाई जनताले साथ र सहयोग पुर्याउने विश्वास समेत व्यक्त गरे।

अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहाल एक साहसी पर्वतारोही रहेको जनाउँदै नेपाल पर्वतारोहण संघले ककनीमा शालिक निर्माण गरेको हो । उक्त स्थानमा अन्य आरोहीहरुको पनि शालिक बनाउँदै लगिने संघले जनाएको छ । वि.सं. २०६९ जेठमा कृष्ण केसीको नेतृत्वमा प्रकाश दाहाल लगायतको १२ जनाको टोलीले सगरमाथा आरोहण गरेको थियो। प्रकाश दाहालको २०७४ मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो।