
नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
प्रचण्डले पार्टी कार्यलय पेरिस डाँडा कोटश्वरमा विप्लव नेतृत्व पार्टी परित्याग गरेका केही केन्द्रीय सदस्यहरूलाई पार्टी प्रवेश गराउँदै नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका हुन् ।
एमालेको मूल नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको बाटोमा हिँडाउन सकिने अध्यक्ष प्रचण्डले बताएका छन् । केपी ओली एमाले नेतृत्वमा हुँदा प्रतिगमन भयो । त्यो नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ । तीन वर्षको अनुभव एमालेभित्रका पनि हजारौँ कार्यकर्ता नेतालाई केन्द्रीकृत गरेर आएका छौं,’ प्रचण्डले भने, ‘त्यहाँ बीउ रोपिएको छ, बीउ रोपेर आएका छौं । केही समयपछि त्यो फुल्छ फल्छ ।’
प्रचण्डले पूर्वमाओवादी घटकका सबै दल मिल्दा अहिले पनि देशको ठूलो शक्ति बन्न सकिने भन्दै मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई ठण्डा दिमागले सोच्न आग्रह गरे । माओवादीहरू मिल्नु त छँदैछ, केही दिनमा संस्थागत एकता हुन्छ । तर पूर्व माओवादीहरू मिलेर मात्र पुग्दैन कम्युनिस्ट एकता गर्नुपर्छ,’ प्रचण्डले भने ।
यस्तै, निर्वाचन आयोगमा कम्युनिस्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन् । आयोगमा दर्ता भएका कुल दलको यो १२.५ प्रतिशत हो । आयोगमा दर्ता भएका पार्टीहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल मजदुर किसान पार्टी संसदीय दलको मान्यता प्राप्त हुन् । राष्ट्रिय जनमोर्चाले संसदीय दलको मान्यता पाएको छैन तर प्रतिनिधित्व छ ।
