एमाले–माओवादी एकता सरकार गठनपछि

२६ मंसिर २०७४, मंगलवार ०३:५४

मंसिर २६, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन गरी पार्टी एकतासम्म पुग्ने घोषणा गरेका एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनपपिछ मात्र एकता गर्ने भएका छन् ।

प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै प्रत्यक्षतफृ संघ र प्रदेश दुवैमा स्पष्ट बहुमत ल्याएका वाम गठबन्धनले पार्टी एकिकरणको एजेन्डालाई भन्दा सरकार गठनको एजेन्डालाई प्राथमिकतामा राखेर गृहकार्यसमेत सुरु गरेका छन् । एकताको प्रक्रिया लामो हुने भएकाले सरकार गठनसँगै एकता प्रक्रिया सुरु भए पनि एकता घोषणा भने सरकार गठनपछि मात्र हुने उनीहरुको भनाई छ ।  प्रदेश २ बाहेकका ६ वटै प्रदेशमा वाम गठबन्धनको स्पष्ट बहुमत आइसकेको छ भने समानुपातिकतर्फको मतगणनामा पनि यी दुई दलको मत जोड्दा अग्रस्थानमा ने छ । राष्ट्रिय सभाको निर्वाचन, संसदीय दलको गठन र सरकार निर्माणपछि पार्टी एकिकरण गर्ने गरी गृहकार्य अघि बढिसकेको वाम गठबन्धन आबद्ध नेताहरुले बताएका छन् ।

 

एमाले स्थायी कमिटिको सदस्य सुरेन्द्र पाण्डेले निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि दुई पार्टीको सहमतिअनुसार अघि बढ्दै पहिला सरकार निर्माण गरिने बताए । सरकार निर्माण, संसदीय दलको गठबन्धनपश्चात् पार्टी एकीकरणको प्रक्रिया सुरु हुने उनले बताए ।  ‘दुई पार्टीका बीचमा भएको सहमतिअनुसार नै अगाडी बढ्ने हो, निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिकपछि पहिला सरकार निर्माण गर्छौ,’ पाण्डेले भने–‘सरकार निर्माण लगत्तै दुई पार्टीबीचको सहमतिअनुसार पार्टी एकीकरणको प्रक्रिया अघि बढ्नेछ ।’    सरकार गठनसहित महत्वपूर्ण काम सकेर पार्टी एकीकरणको काम पनि हुने बताउँदै उनले यसअघि गठित उकता संयोज समितिको निर्णयअनुसार एकीकरण प्रक्रिया अघि बढ्ने बताए । सरकार, राष्ट्रिय सभाको गठनलगाएतका महत्वपूर्ण काम सकेर सम्भवतः दुई–तीन महिनाभित्रमा पार्टी एकीकरणको प्रक्रिया सुरु हुने पाण्डेले बताए ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिनुअघि चुनावी तालमेल गरी निर्वाचनलगतै पार्टी एकीकरण गर्ने घोषणा गर्दै निर्वाचनमा सहभागी भएका थिए ।   साझा घोषणापत्र सार्वजनिक गर्दै मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको बाम गठबन्धनले मुलुक, जनताको चाहना एवम् आवश्यकता अनुसार पार्टी एकिकरण गर्दै अघि बढ्ने उद्घोष गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतयक्षतर्फको मतपरिणाम केही ठाउँबाहेक सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको मतगणनाको मतपरिणाम सार्वजनिक भइरकेको छ । सार्वजनिक मतपरिणामअनुसार वाम गठबन्धन दुई तिहाई नजिक पुगेको छ । –राजधानी दैनिक