
सैन्य सम्झौतासम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।
गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुकलाई दुर्घटना हुन बाट जोगिएको सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले बताएका हुन् ।
उनले केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिवादी प्रवृति हाबी भएकाले मुलुक पटकपटक समस्यामा परेको तर्क गरे । अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि अरूमाथि भरोसा नगरी सबै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिए । अबको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने उनको भनाइ छ ।
उनले छोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन विस्तारमा ध्यान दिनुपर्ने जिकिर गरे । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । यस्तै नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन्।
सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन्।
