नेकपा एकीकृत समाजवादीको बैठकमा किन गएनन् मन्त्रीबाट हटाइएका चारै नेता ?

१३ असार २०७९, सोमबार १४:११

नेकपा एकीकृत समाजवादीले सरकारको मन्त्रीबाट फिर्ता गरिएका चारैजना नेता पार्टी बैठकमा अनुपस्थित भएका छन्।

सोमबार मध्यान्ह राजधानीको कमलादीमा सुरु भएको केन्द्रीय परिषद् बैठकमा आइतवार मात्रै मन्त्रीबाट फिर्ता गरिएका चारैजना नेता सहभागी नभएका हुन्।

समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरु सहभागी भएका थिएनन्। आफूहरुले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जवरजस्ती फिर्ता बोलाएको भन्दै उनीहरु असन्तुष्ट रहेका थिए।

समाजवादीको केन्द्रीय परिषद बैठकमा नगएकाहरुमा निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्री, निवर्तमान संस्कृति पर्यटन मन्त्री प्रेम आले, निवर्तमान श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा रहेका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँर्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यवाद तथा शुभकामना दिएकी छन् ।