मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा अध्यक्ष माधव नेपाललाई लाग्यो ठूलो झट्का

१० असार २०७९, शुक्रबार १३:५७

नेकपा एकीकृत समाजवादीमा मन्त्रीमण्डल हेरफेर गर्ने पार्टीको निर्णयलाई लिएर विवाद सुरु भएको छ।

अध्यक्ष माधव कुमार नेपाललाई पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै ध्यानाकर्षण नै गराएका छन् । ८ बुँदे ध्यानाकर्षण पत्रमा बजेटमाथि छलफल चलिरहेका बेला एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने १० सांसदहरुले बताएका छन्।

पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरिएको ध्यानाकर्षण पत्रको दोस्रो बुँदामा आरोप लगाइएको छ । यस्तो व्यवहार कदापी ठीक मान्न नसकिने उनीहरुको भनाइ छ।

स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष माधव नेपालले गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक पटक आजको भोलि नै मन्त्रीहरुलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न नसकिने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित रहेकाले त्यसप्रति गम्भीर असहमति राखिएको छ । पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको उनीहरुको भनाइ छ । यस्तै महिलाको सहभागिता नभएको गैरसांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुरानो र नयाँको सन्तुलन नमिलाएकोमा पनि मोर्चाबन्दीहरुले आरोप लगाएका छन् ।

मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता र नयाँ टीम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गरिएको छ । यसबाहेक यी समग्र विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउन समेत माग गरिएको छ ।

मोर्चाबन्दी गर्नेहरूमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु रहेका छन् ।

बिहीबार बुझाइएको ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ पनि छन् । यस्तै कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, धनबहादुर बुढा र निरा जैरु छन् ।

← Back

Your message has been sent