रुपन्देही तिलोत्तमा नगरपालिका २ बस्ने २९ वर्षीय अमृता खत्री टण्डनको मृत्यु भएको करिब तीन महिनापछि अन्त्येष्टि गरिदै छ ।
३० चैत्र साँझ करिब साढे ८ बजे सकुशल घर पुगेकी अमृताको लुम्बिनी प्रादेशिक अस्पतालमा १० बजे तिर मृत्यु भएको थियो । मृतक अमृताको छोरालाई शिक्षा –दीक्षाका लागि रु. १४ लाख र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने सहमति भएपछि माइती पक्ष र आफन्तहरुले ७३ दिनपछि अन्त्येष्टि गर्ने भएका हुन् ।
मृतकका दाजु पुष्प खड्काले माइती पक्षले राखेका माग पूरा गर्न घर पक्ष सहमत भएकाले शुक्रबार अन्त्येष्टी गर्न लागिएको बताए ।
अमृताको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिंदै सडक आन्दोलन गरेको थियो ।
अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो । नाबालक छोरा भने अहिलेलाई मामाघर नै बस्नेछन् ।
