प्रदेश र प्रतिनिधी सभाको चुनावमा एमालेसँग मिल्न सक्ने प्रचण्डको खुलासा

९ असार २०७९, बिहीबार १४:३१

आगामी संघ र प्रदेशको निर्वाचनपछि एमाले र कांग्रेस माओवादीसँग तालमेल गर्न आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले बिहीबार ललितपुरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई गरिएको सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
गत निर्वाचनहरुमा माओवादी केन्द्र अन्य दलहरुसँग मिलेर जानुपर्ने अवस्था रहेको तर सत्ता सञ्चालनको चाबी आफ्नै हातमा रहेको उनले बताए ।

‘प्रदेश र संघको निर्वाचनपछि हाम्रो सपना के हो भने हामी अरुसँग मिल्न जान पर्ने होइन अरु हामीसँग मिल्न आउन पर्‍यो । कांग्रेस र एमाले माओवादीसँग नमिले उनीहरुको कुनै उपाय नहुने ठाउँमा पुर्याउन सकिन्छ ।’ उनले भने, ‘अहिले त हामी कि कांग्रेससँग मिलेर जानुपर्ने कि त एमालेसँग मिलेर जानुपर्ने स्थिती छ । चाबी त हाम्रै हातमा त छ । तर त्यो कस्तो चाबी छ भने हामी एउटा न एउटासँग मिलेर जानुपर्ने त्यसपछि मात्र खुल्छ त्यो । ताला खोल्नलाई चाँही एउटासँग मिल्नुपर्ने ।’

अध्यक्ष प्रचण्डले निर्वाचनमा आफैँ जित्ने गरी बलियोसँग लाग्न निर्देशन दिए । “आफ्नो बलियो तयारीमा ध्यान दिनुस् । आफ्नै संगठन सुदृढ गर्न लाग्नुस् । सदस्यता बढीभन्दा बढी बढाउनुस्,” उनले भने ।