यो निर्वाचन माओवादीका लागि जीवन मरणकै लडाईं हो: अध्यक्ष प्रचण्ड

९ असार २०७९, बिहीबार १३:५१

प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन पार्टीका लागि जीवन मरणको लडाईं भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

अध्यक्ष प्रचण्डले संविाधानको रक्षा र उत्पीडित वर्गले पाएका अधिकारको रक्षाका लागि माओवादीले नै जित्नुपर्ने बिहीबार ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित गरएिको कार्यक्रममा बताएका हुन्।

“जनयुद्धका बेलामा कीर्तिमान कायम गर्ने गरी लागेका थियौँ । यो निर्वाचन माओवादीका लागि जीवन मरणकै लडाईं हो । यो संविधान बच्छ कि बच्दैन, उत्पीडितले पाएको अधिकार बच्छ कि भन्ने छ,” उनले भने ।

अध्यक्ष प्रचण्डले निर्वाचनमा आफैँ जित्ने गरी बलियोसँग लाग्न निर्देशन दिए । “आफ्नो बलियो तयारीमा ध्यान दिनुस् । आफ्नै संगठन सुदृढ गर्न लाग्नुस् । सदस्यता बढीभन्दा बढी बढाउनुस्,” उनले भने ।

उनले संगठन विस्तारको कामलाई योजनाबद्ध ढंगले रातदिन खटेर गर्न पनि निर्देशन दिए । यस्तै, नेता वर्षमान पुनले माओवादी एक्लै चुनाव लड्न सक्षम भएको र आफ्नो प्रभाव भएको क्षेत्रमा जित्ने पनि दावी गरेका छन् । तर अहिले गठबन्धन एउटा निश्चित एजेण्डा बनेको हुनाले चुनावमा गठबन्धन बनाएर जान आवश्यक भएको बताएका छन् ।