मन्त्री रामकुमारी झाँक्री र माधवकुमार नेपालबीच चर्काचर्की हुदाँ, मन्त्री झाँक्रीले किन यस्तो भनिन् ?

९ असार २०७९, बिहीबार १२:४९

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षले मन्त्रीमण्डल हेरफेर गर्ने निर्णय कार्यान्वयन गराउन दिएको निर्देशन प्रति दुई मन्त्रीले असहमति जनाएका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न दिएको निर्देशनलाई पर्यटन मन्त्री प्रेम आले र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति जनाएका हुन् ।

शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मन्त्री आले र झाँक्रीले असहमति प्रकट गरेका हुन् ।

कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै शहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् ।

हामीलाई किन हटाउनु पर्यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भईरहेका छन्,’ नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो । कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताए ।

उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए । ‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’ आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए ।

स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्वीकार गरेका थिए ।

स्वास्थ्य मन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए । ‘मन्त्रीमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुईवटा विषय लागू गरिदिनुहोस– पहिलो राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्नुहोस, दोस्रो स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनु होस्’, मन्त्रीद्वयले प्रस्ताव गरेका थिए ।

कोटेश्वरमा उपस्थित मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेपछि अध्यक्ष नेपालले सो बिषयमा बैठकमा छलफल गर्ने जनाएका छन् । ‘तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाईहरू सहज तरिकाले ढोका खोलिदिनुहोस’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।

यस्तै, पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने विषयमा बोलेका छन् ।
नेता पुनले नेकपा एसले मन्त्रीहरु हेरफेर गर्ने विषयमा एक अन्तर्वातामा पत्रकारहरुसंग कुरा गर्दै सो विषयमा बोलेका हुन् । नेकपा एसले मन्त्रीहरु हेरफेर गर्ने विषय पार्टीको आन्तरिक मामिला भएको तर यही मन्त्रीपरिषद्कै सेटले चुनाव गर्दा राम्रो हुने बताएका छन् ।