रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा दाई हरिशरण लामिछानेले आजीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् ।
मंगलबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।’
यस्तै रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेकामा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द मिश्रले शुभकामना दिएका छन्। स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले लामिछानेको राजनीतिक यात्राप्रति शुभेच्छा प्रकट गरेका हुन्।
