रवि लामिछानेले गरे नयाँ पार्टी र चुनाव चिह्न घोषणा

७ असार २०७९, मंगलवार १४:२०

लोकप्रिय पूर्वसञ्चारकर्मी रवि लामिछानेले असार ७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम साथ राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।

आफ्नो पार्टीमा कार्यकर्ता नहुने तर सदस्य भने हुने बताए। उनले प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने बताए।
लामिछानेले आफ्नो पार्टीले व्यापारीबाट चन्दा नलिने तर सर्वसाधारणबाट सहयोग लिने बताएका छन्। उनले आफ्नो पार्टीले कोही पनि आफन्त तथा नातागोताका व्यक्तिलाई सरकारी नियुक्ति नदिने बताएका छन्। त्यस्तै, विकास र सुशासनको मोडल देखाउनेलाई चुनावमा टिकट दिने बताए।

लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी रहने जानकारी दिए। आफ्नो पार्टीबाट कसैले जितेर काम नगरे फिर्ता बोलाउने व्यवस्था गर्ने‚ आगामी दिनमा भाषणभन्दा योजना लिएर अघि बढ्ने उनले बताए। उनले भने, “अब भाषण गर्नेलाई होइन, जान्नेलाई छान्ने।”

रवि लामिछाने नेपाल बाट अमेरिका पलायन भएकानेपाली पत्रकार हुन् । उनले सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजन मा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर  विश्व रेकर्ड कायम गरेका थिए ।